साहित्य

बाँच्नुको अर्थ सास फर्नुमा सीमित हुनुहुँदैन – राष्ट्रकवि

त्रिभुवनचन्द्र वाग्ले
  • त्रिभुवनचन्द्र वाग्ले

‘ऋतम्भरा नसिध्याई मर्दिन’ कत्रो आत्मविश्वास ‘मसँग काल पराजित छ’ राष्ट्रकवि निवास लैनचौरमा हामी (साहित्यकार तुलसीहरि कोइराला र म) सँगको एक भेटमा राष्ट्रकवि माधवप्रसाद घिमिरेले भन्नुभएको थियो । अब एक सर्ग बाँकी छ, केहीको परिमार्जन गर्नुछ । एकलब्य, एकचित्त र निरन्तरताका साथ एउटा महायात्रा बिसाइ दिनुभयो कविजीले । अब भन्नुहुने छैन म ऋतम्भरा पूरा गर्नेछु । त्यसो त उहाँको सम्पूर्ण जीवन नै ऋतम्भराको यात्रा थियो, चित्तवृत्ति निरन्तरता र सत्य स्वीकार । कविजीले सत्य स्वीकार गर्नुभयो । कालसँग पराजित हुनुभएन तर सम्झौता गरिदिनुभयो ‘इतिसम्बत् २०७७ भदौ २ गते ।’ बाहुनडाँडाको पुस्तुनबाटमा सुरु भएको ऋतम्भराले लैनचौरमा महापरिनिर्माण लियो ।

 राष्ट्रकवि माधव घिमिरेकाे निधन

राष्ट्रकविको पार्थिव शरीरमा श्रद्धाञ्जली (फोटो फिचर)

राष्ट्रकवि माधवप्रसाद घिमिरेकोे आज (भदौ २ गते मङ्गलबार) साँझ आफ्नै निवास लैनचोरमा निधन भएको खवरले नेपाल र नेपाली स्तब्ध छन् । परिष्कारवादी सौन्दर्य लेखनको एउटा अध्यायमा पूर्णबिराम लागेको छ । देवकोटा र लेखनाथ जोड्ने साँघु भत्केको छ । शताब्दी पूर्व १९७६ साल असोज ७ गते लमजुङ जिल्लाको पुस्तुनमा उम्रिएको बिरुवा राजधानीमा झाङियो । फुल्यो र फल्यो । फल्नुको सत्य झर्नु पनि थियो । झ¥यो ऋतम्भराको सन्देशमा । सत्यको अठोटमा र विश्वासमा ।

माधवप्रसाद सिर्जित हरियो वन थियो निर्मित वाटिका मात्र होइन । अथाह क्षेत्रफलमा फैलिएको पुस्तुनको हरियो वनमा के उपलब्ध थिएन ? कविता, गीत, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद, लेख, प्रबन्ध, संस्मरण । अक्षरका लता रहरामै पहराले गाइएका स्वर थिए घिमिरे । नेपाली स्वाद थिए घिमिरे । वि.सं. १९९२ को गोरखापत्रमा १४ वर्षे लोर्के जोबानमा छपाएको कविता ज्ञानपुष्पबाट लेखकीय यात्रा गर्नुभएका कविजी वि.सं. २००१ सालमा गोरखापत्रमै सहायक सम्पादक भएर अक्षरको किसानीमा थप सक्रिय हुनुभयो । जीवनको अन्त्यसम्म पनि अक्षर कै अक्षांशमा उहाँको यात्रा चलिरह्यो । निरन्तर, एकाग्रता, चित्ताग्र अर्थात् ऋतम्भरा ।

 बाँच्नुको अर्थ सास फर्नुमा सीमित हुनुहुँदैन…निधन हुनु मर्नुको घटना मात्र होइन । मरेर पनि बाँच्नेहरूलाई निधन खास घटना हुनसक्दैन ।

आँशुले लेखिएको गौरी वा आत्माले बोलेको ‘नेपाली हामी रहूँला कहाँ..’कालजयी मात्र छैनन् लोकगेय पनि छन् । ‘नवमञ्जरी’, ‘घामपानी’, ‘नयाँ नेपाल’ र ‘किन्नरकिन्नरी’ जस्ता कविता सङ्ग्रहले नेपाली साहित्यको भकारी भरेका मात्र छैनन् सिंगारेका पनि छन् । स्वच्छन्द मा परिष्कारको पुट हालेर नेपाली छन्दको चुचुरो उचाल्ने उहाँले ज्योतिको पङ्खमार्फत् सुन्दर शान्त नेपाललाई लयदार बनाउनुभयो । गेय बनाउनु भयो । नेपालीका लागि साझा गीत मात्र होइन रीत पनि सिकाउनु भयो–

थुतिन्छ पत्ता,जब खातबाट
सिध्दिन्छ शोभा,अनि फूलबाट
पारिन्छ सत्ता,जब खण्डखण्ड
रहन्छ के राज्य,त्यहाँ अखण्ड ?

मालती मङ्गलेमा नेपाली समाजलाई लल्कार्नु हुने गीति नाटककार घिमिरेले हिमालपारि हिमालवारिमा देशको सौन्दर्य गाउनु भएको छ । माटोको सुगन्धलाई मुटुले स्पन्दन गर्ने चैतन्य पुरुष घिमिरेले राष्ट्र निर्मातामा दोहर्याउनु भयो–

खेलेर ऐरा, मृग एक मारी
बाँडी कलेजो, जति छन् शिकारी
बिलो लिएझैं सरमा उनेर
यो राज्य बाँडने चिज हैन हेर ।

किन्नर–किन्नरी, राजेश्वरी, इन्द्रकुमारी, चारुचर्चा, आफ्नो बाँसुरी आफ्नै गीत नेपालीका लागि छाडेर जानुभएका घिमिरे आशावादी र सकारात्मक सोचका स्रष्टा र स्रोत हुनुहुन्छ । केही नयाँ काम गर्न उत्सुक कविले युवा पुस्तालाई पे्ररणा दिनुभएको छ । बाँच्नुको अर्थ सास फर्नुमा सीमित हुनुहुँदैन भन्दै हाम्रो भेटमा उहाँले भन्नुभएको थियो ‘म लेख्नकै लागि बाँचेको हुँ ।’ निधन हुनु मर्नुको घटना मात्र होइन । मरेर पनि बाँच्नेहरूलाई निधन खास घटना हुनसक्दैन । नेपालीका स्वरमा, आँखा र मुटुमा छाइरहने, गाइरहने राष्ट्रकविले मृत्युलाई जित्नुभएको छ । फरक अबका दिन शरीरमा होइन सन्देशमा उहाँलाई भेट्न सकिने छ ।

साभारः गोरखापत्र अनलाइन

फिचर फोटोः गुगल सर्च

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s