खाध्य सुरक्षा, जलवायु परिवर्तन

खाध्य वाली उत्पादनमा मौसमी जोखिमको क्यालेण्डर


नेपालमा जुनदेखि सेप्टेम्बरसम्मको चार महिना ठूलो मनसूनी बर्षा, मार्चदेखि जुन महिनासम्म सुख्खा र नोभेम्बरदेखि फेब्रुअरीको चार महिना ठण्डि सितलहर देखिने गरेको छ । यसरि हेर्दा नेपाल अक्टोबरको एक महिनामात्र प्राकृतिक प्रकोप र मनसूनी जोखिमबाट मुक्त देखिएको छ ।


प्रत्येक बर्ष प्राकृति र मौसम परिवर्तनबाट उत्पन्न प्रकोपका कारण नेपालमा धेरै जन-धनको क्षति हुने गरेको छ ।  यसबाट खासगरी मानिसको दैनिक जिवन यापन र खाध्य बस्तुको आपूर्तिमा प्रभाव पर्ने गरेको छ । नेपालको तराइ, पहाड र हिमाली भूभाग मौसमका कारण कसरि प्रभावित हुन्छ, बर्षभरिको मौसमी जोखिम मासिक रुपमा कसरि वितरित भएको छ र त्यसबाट खाध्य बस्तु उत्पादनमा कस्तो प्रभाव पर्ने गरेको छ भनेर हेर्नु जरुरि देखिन्छ । यसो गर्दा बार्षिक जोखिमको भारलाई मासिक रुपमा वितरण गरेर त्यसलाई सम्बोधन गर्न पनि सहज हुने देखिन्छ । खाध्य सुरक्षाको महत्वपूर्ण आयाम उत्पादन हो र उत्पादनलाई प्राकृतिक गुण र मौसमी जोखिमले निर्धारण गरिरहेको हुन्छ । त्यतिमात्र होइन, श्रम शक्तिको उत्पादकत्वलाई समेत मौसमले प्रभाव पर्दछ । यस्तो गहन बिषयमा गहन तरिकाबाट मौसमी जोखिम केलाउने गरिएको पाइन्न । खाध्य सुरक्षाको दृष्टकोणबाट धान खेति विश्वमै, खासगरी एशियामा, उत्पादन र उपभोगका कारण उच्च स्थानमा रहेको छ । नेपालको तराइ खण्ड धान खेतिका लागि उच्च स्थानमा पर्छ तर बाढि र डुवानले त्यो उच्च सम्भावनालाई कमजोर देखाएको छ । भावी योजना र निति नियमहरुले त्यहि जोखिम न्युनिकरणमा ध्यान पुर्याउन जरुरि छ । यसर्थ खाध्य सुरक्षाका लागि धानखेतीको विविधता, दिगो बिकास र प्रवर्धनमा जोखिम वहन गर्न सक्ने क्षमता बढाउदै लान जरुरि छ । रिजिलियण्ट प्रणालि अर्थात संक्रमण पछि पूर्ववत अवस्थामा सजिलै फर्कन सक्ने अनुकुल व्यवस्थाले त्यस्तो क्षमताको बिस्तार गर्दछ । तर कृषिमा रिजिलियण्ट प्रणालिको अभ्यास त्यति प्रचलित छैन । धान खेतीमा रिजिलियण्ट प्रणालिको प्रत्याभूति कसरि हुन् सक्छ भनेर गरिएको एक अध्ययनमा आधारित रहेर यसपटक भौगोलिक र मौसमी जोखिमको बार्षिक तालिका (क्यालेण्डर) का विविध पक्षबारे यहाँ चर्चा गरिएको छ । आउने दिनहरुमा खाध्य सुरक्षा र धान खेतीमा रिजिलियण्ट प्रणालिबारेको जानकारी सहित थप चर्चा गरिने छ ।

भौगोलिक र मौसमी जोखिम

नेपालको भौगोलिक अवस्थितिलाई हिमाल, पहाड र तराइ भनेर तीन खण्डमा विभाजन गरिएको छ । ती क्षेत्रहरुको मौसमी जोखिम र बिशेषता फरक फरक खालका छन् । सोहि अनुसार फरक फरक खेतीको उत्पादन गरिन्छ । नेपालको कुल क्षेत्रफल मद्ध्ये तराइमा धान खेतिका लागि ६९.७ प्रतिशत भूभाग उपलब्ध रहेको बताइन्छ र यो क्षेत्र बाढी, सुख्खा, भुमरी, आगलागी, महामारी र सित लहरबाट प्रभावित रहँदै आएको छ । धान खेतीको लागि  २५ प्रतिशत भूभाग उपलब्ध पहाडमा भू-क्षय, पहिरो, सुख्खा, आगलागीको बिगविगी धेरै देखिन्छ । सोहि अनुसार, धानका लागि ४.४ प्रतिशत उपलब्ध रहेको भनिएको हिमाली क्षेत्र सदावहार चिसो रहनुको साथै हिउँ पहिरो, बाढी-पहिरो, असिना, चट्याङ्गको प्रभाव धेरै देखिन्छ । मौसमका कारण निश्चित रुपमा खेतीको उत्पादन र मानिसको दैनिक जिवनमा ठुलो क्षति पुगेकोछ । उदहारणका लागि, सन् २०१८ को जुलाई १ तारिखका दिन बर्दियामा २४ घण्टासम्म परेको अविरल बर्षाले १२ जनाको ज्यान लिएको थियो । सन् २०१७ को जुन महिनाको १ तारिखसम्म नेपालका ३७ जिल्लाहरु बाढी र पहिरोका कारण पिडित हुन पुगे । जिल्लाका हिसाबले सोलुखुम्बु र झापामा सबैभन्दा धेरै प्रभाव देखियो । त्यस अवधिमा ३४ जनाले ज्यान गुमाए । त्यस्तै कृषि मन्त्रालयको तथ्याङ्क अनुसार, १२ अगस्ट २०१७ को एक दिन ४०० मिलिमिटरसम्म परेको झरीले पुरै तराइको भागलाई डुवानमा पारेको थियो । जसले गर्दा कृषि एवं खाध्य वस्तुमामात्र तत्काल आठ अरव ११ करोडको क्षति हुन् पुगेको थियो । दिर्घकालिन रुपमा पाङ्गो माटो र ढुङ्गा-मुडा, नहर र सिंचाइको बिनास, सडक र पुल लगायत बजारको विस्थापनले त्यस्तो क्षतिको मात्रा अनगिन्ति देखिन्छ । त्यतिमात्र होइन, उद्धारमा भएको खर्च, ब्यवस्थापनमा देखिने चुनौती र जना गुनासो, जनागुनासोका कारण राजनीतिमा आउने चुनौती पनि संवेदनशील देखिएका छन् । सरकारले बाढिपिडित परिवारको लागि सन् २०१७ मा १ अर्ब २५ करोड रकम राहत स्वरुप छुट्याएको थियो । राहत वितरणको पारदर्शी व्यवस्था नहुँदा पिडितले राहत पाउनुभन्दा यस्तो  रकमको दुरुपयोग हुने संभावना त्यति नै धेरै देखिन्छ ।  प्राकृतिक प्रकोपका कारण यौटा निम्न आय भएको मुलुकले बर्षेनी भोग्नु परेका बहुआयामिक जोखिमहरुको न्यूनीकरण र स्थायी समाधानको लागि पहल गर्न ढिलो भै सकेको छ ।   

मौसमको मासिक जोखिम

एकैछिन नेपालमा देखिने मौसमी जोखिमबारे चर्चा गरौँ । उदहारणका लागि मनसून, सुख्खा र ठण्डिलाई लिन सकिन्छ । यी जोखिमहरू मध्ये मासिक रुपमा निम्नानुसार देखिने गरेका छन: जुनदेखि सेप्टेम्बरसम्मको चार महिना ठूलो मनसूनी बर्षा हुने गर्दछ । मार्चदेखि जुन महिनासम्म सुख्खा हुनेगर्दछ र नोभेम्बरदेखि फेब्रुअरीको चार महिना बिशेष गरि ठण्डि सितलहर देखिने गरेको छ । यसरि हेर्दा नेपाल अक्टोबरको एक महिनामात्र प्राकृति प्रकोप र मनसूनी जोखिमबाट मुक्त देखिएको छ । मौसमी जोखिमको क्यालेण्डर भित्र नपरेका महिनामा भुकम्प वा अन्य अनुमान लगाउन नसकिने जोखिमको संभावना भने रहिरहन्छ । मौसममा आउने यस्तो बिषमताले वाली-नाली लगायत खाध्य वस्तुको उत्पादन, बजारिकरण र उपभोगमा विविध समस्या आएका छन् । त्यसले नागरिकहरुको जिवन र भौतिक पूर्वाधारमा समेत बिनास गर्दै आएको छ । मौसमका कारण खाध्य सुरक्षामा पर्न गएको नकारात्मक प्रभावलाई केलाएर स्थायी समाधान ननिकाल्ने हो भने सन् २०३० भित्र गरिवी निवारण र भोकमरी अन्त्य गर्न सपना विपना बन्न सक्ने अधार देखिन्न । 

खाध्य-वालीको क्यालेण्डर  

नेपालमा खाद्यान्नका लागि गरिने वालिनालिलाई बर्षे र हिंउदे भनेर दुई चक्रमा बिभाजन गरेको पाइञ्छ । जसमध्ये सामान्यतया धान, मकै र कोदो बर्षायाममा गरिन्छ भने गहुँ, कोदो र जौ चाहिँ हिउँदेयाममा गर्ने गरिएको छ । मौसमको जोखिमलाई खेतीको मासिक क्यालेण्डरसँग भिडाएर हेर्दा बर्षायामको जुनदेखि सेप्टेम्बरका चार महिना पुरै मनसूनी बर्षाले बर्षे खेतीलाई आक्रमण गर्दछ । गहुँ, कोदो र जौको खेतिगरिने महिनाहरु मध्ये नोभेम्बरदेखि मेसम्मको सात महिनामा ठण्डि, सितलहर र सुख्खा ग्रसित देखिन्छ । आकाशे बर्षामा निर्भर नेपालको कृषि खासगरी धानको उत्पादनलाई मनसूनले खुसियाली त ल्याउँछ तर मनसुनका कारण आउने बाढि, डुबान र पहिरोले त्यो खुसि धेरै टिक्ने गरेको छैन । बर्षेनी तराइमा हुने डुबान त्यसैको उदहारण हो । त्यसैले त्यस्ता बालिनालिहरुको संरक्षणका लागि मौसमी जोखिमलाई कम गर्ने विधिहरुको पहिचान गरेर लागु गर्न आवश्यक छ ।  त्यसका लागि रिजिलियण्ट प्रणालिको अवलम्बनबाट सहयोग पुग्ने देखिन्छ । जस्तै बिमाको व्यवस्था, संक्रमित समुदाय खेति, ठाउँ र मौसमलाई लक्षित गरेर रुख रोप्ने, ठूला-ठुला खाल्डाहरु खनेर बालुवा, पाङ्गो र पानीको बहावलाई नियन्त्रण गर्ने, नदि कटान र बाँधको व्यवस्थापनमा दिगो समाधानका उपायहरु पहिचान गरेर कार्यान्वयन गर्न आवश्यक छ । कृषि रिजिलियण्ट प्रणालिको बारेमा पछि कुनै समय चर्चा हुनेनै छ ।  



यसैगरी, खाध्य सुरक्षाका हिसावले जनवरीदेखि मार्च, जुलाई र अगस्टमा खाध्य बस्तुको स्टक कम हुने अवधि मानिएको छ । यसरि स्टक कम हुनुमा निम्न उत्पादन त हो नै, त्यस अलावा मौसमको प्रतिकुलताले पनि असर गरेको देख्न सकिन्छ । अनि, अक्टोबर र नोभेम्बरमा चाडबाडको कारण हुने फजुल खर्चले जोखिमलाइ बढाएको छ । दशैं तिहार यसै बेला मनाइन्छ । जुनदेखि अगस्टसम्मको तिन महिनामा पानी (बाढी) जन्य महामारी आउने गरेको छ । यसबाट जनस्वास्थ्यमा प्रतिकुल असर पर्ने, उपचार खर्च बढने गर्दछ । नेपालमा खाध्य बालि हुने समय, क्षेत्रीय एव मौसमी चुनौतीलाई संक्षेपीकरण गर्दै  तल प्रस्तुत गरिएको तालिकाबाट उक्त तथ्यहरुलाई सहज रुपमा बुझ्न सकिन्छ ।


यसरी छोटकरीमा बुझ्नु पर्दा, नेपालमा मनसुन सुरु भएपछी धान खेति रोप्ने गरिन्छ तर यसरि रोपिएको धान खेति बाढि-डुबान, पहिरोका कारण जोखिममा परेको छ । जनसंख्या बढेसंगै  खाध्यबस्तुको उत्पादन पनि बढाउनु पर्ने हो तर मौसमी प्रतिकुलताका कारण उत्पादन नासिने अवस्था यथावत छ र किसानहरु पनि मर्कामा परेका छन्, त्यसलाई न्यूनीकरण गर्ने सरकारी एवं संस्थागत उपायहरु भने कमजोर छन् । धान खेति गर्ने समय बिशेष गरि जुलाई र अगस्टमा खाध्य-स्टकको कमि हुन जाने र किसानहरुले भोक-भोकै काम गर्नु पर्ने अवस्था पनि देखिएको छ । त्यस्तै जुलाई र अगस्टमा बाढि पहिरो र डुबानका कारण पानीजन्य-प्रदुषणले विभिन्न महामारी ल्याउने गरेको छ ।   

अन्तमा, जोखिमका हिसाबले नेपालमा बाह्रै महिना संवेदनशील देखिएका छन तर उल्लेखित जोखिमको सामना गर्ने तरिका र व्यवस्थापन विधि फरक फरक हुने भए पनि नेपालको तयारि नगण्य देखिन्छ । जोखिमलाई एकमुष्ठ सम्बोधन गर्न गाह्रो हुन्छ त्यसैले त्यस्तो भारलाई मौसम, भौगोलिक वा खेतीका हिसाबले वितरण गरेर सम्बोधन गर्न सहज देखिन्छ । नेपालमा खाध्य सुरक्षा र जनजीविकाका लागि क्षेत्रीय र मौसमका कारण जे जस्ता जोखिमहरू देखिएका छन्, तिनीहरुलाई न्युनिकरण गर्न उपाय नखोज्ने हो भने राष्ट्र, जनता र प्राकृतिक श्रोतले भोग्नु पर्ने क्षति झन दर्दनाक हुँदै जाने देखिन्छ । समस्या समाधानका लागि चालिएका कदमहरु असफल हुने र जनगुनासो बढने कुरा पनि सत्य छ । संक्रमण आउनुभन्दा पहिले नै निजि एवं सरकारी क्षेत्रको संलग्नतामा स्थानिय, क्षेत्रीय र राष्ट्रिय तहमा बिभिन्न तयारि हुन जरुरि छ जसले घटनालाई छिटो संक्रमण पूर्वको अवस्थामा फर्काउन सहयोग गर्छ; यसलाई अंग्रेजीमा रिजिलियण्ट सिस्टम भनिन्छ, क्षतिको मात्रा घटाउँछ र अन्तत: व्यवस्थालाई भरपर्दो बनाउँछ । आपतकालिन प्रकोपको कुशल व्यवस्थापनले जनताको जोखिम प्रतिरोध क्षमता बढन जान्छ र प्रजातन्त्रको आयू लम्बिनुको साथै राजनैतिक स्थायित्वको वहाली समेत हुनसक्छ भन्ने कुरा बिर्सन हुन्न । Original post  

लेखक

पढनै पर्ने बिचार बिश्लेषण

1 thought on “खाध्य वाली उत्पादनमा मौसमी जोखिमको क्यालेण्डर”

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s