नेपाल भ्रमण बर्ष

नेपाल भ्रमण बर्ष २०२० : खै पर्यटक भित्र्याउने पूर्वाधार

थोरैको संख्यामा भित्रिएका पर्यटकहरुले पनि राम्रो अनुभव लिएर फर्कन सके भने त्यहि अनुभवले नेपालको पर्यटन ब्यावसायको बिकास र स्थायित्वमा निकै ठूलो भूमिका खेल्न सक्छ। तर भ्रमणमा आएकाहरूमा नराम्रो अनुभव रह्यो भने त्यसको असर के हुन्छ?

विश्वका राम्रा, सुन्दर र मितव्ययी ठाउँ छाडेर पर्यटकहरु किन नेपाल आउने? नेपाल सरकारको कार्यक्रम भएकोले आउनु पर्ने हो वा सुन्दरता, रमणीयता र सुरक्षाको रसस्वादन गर्न आउने हो? निस्चय पनि पर्यटकहरुको छनौटमा आनन्दको अनुभूति नै हो। नेपाल भ्रमण बर्षको तयारीले उनीहरुलाई चाहेको कुराहरू दिन सफल होला त?

निश्चित रुपमा पर्यटन मन्त्रालयले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल पार्न भनेर केहि कार्यक्रम संचालनमा ल्याएको छ। तर नेपाल भ्रमण बर्ष २०२० लहै-लहै हो भन्नेकुरा जिम्मेवार पदाधिकारीबाट प्रदर्शित व्यवहारले जनाउँछ। उदहारणका लागि पर्यटनमन्त्रि स्वयं योगेश भट्टराईले हालै गरेको अस्ट्रेलिया भ्रमण र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको शौचालय निरिक्षण काफी छ।   

विनाशकारी डढेलोको कारण मानविय संकट थपिएको दुखद समयमा नेपाल भ्रमण वर्ष–२०२० प्रवर्धन गर्न पर्यटनमन्त्री योगेश भट्टराई अस्ट्रेलिया पुगे। नेपाली झण्डा सहित सिड्नीमा निकालिएको भ्रमण वर्षको जुलुसको नेतृत्व गरेका मात्रै के थिए त्यहाँको स्थानीय प्रसासनले उक्त औपचारिक र्‍यालीलाई “उपयुक्त समय नभएको” भन्दै बन्द गर्न आदेस दियो। जिम्मेवार मन्त्रीले राष्ट्र्को मर्यादामा खलल पुग्ने गरी त्यस्तो समयमा अस्ट्रेलिया नै किन रोजे? जबकि अस्ट्रेलिया र त्यहाँका नागरिक प्रति विश्वभरबाट सहयोग र सहानुभूति प्रकट भईरहेका छन। यसरि कार्यक्रमको पहिलो गाँसमा ढुङ्गा लागेको छ।

अष्ट्रेलियाबाट उछिट्टिएर  त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको शौचालयमा ठोक्किएका पर्यटनमन्त्रिले अब त थाहा पाए होलान- नेपाल भ्रमण बर्ष २०२० को हालत !

यसबाट मन्त्रीको निकै आलोचना भयो। शायद यस्तो आलोचनाबाट नागरिकको ध्यान अन्यत्र मोडन (?) पनि हुनसक्छ मन्त्रि भट्टर्राईले एकमात्र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा रहेका शौचालयको निरिक्षण गरे र त्यहाँ टिस्यु पनि नहुने गरेको थाहा पाए। यस्तो शौचालय लिएर कस्तो नेपाल भ्रमण बर्षको तयारि गर्न खोजिएको हो- बुझ्न सकिएन। मन्त्रीले शौचालयको निरिक्षण गर्नुपर्ने, यस अघि यस्ता कुराहरु पत्तो नहुने आदि प्रश्नहरुको जवाफ त खोजिए कै छैन। अष्ट्रेलियाबाट उछिट्टिएर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको शौचालयमा ठोक्किएका पर्यटनमन्त्रिले अब त थाहा पाए होलान- नेपाल भ्रमण बर्ष २०२० को हालत !

पर्यटकहरुको स्वेच्छाले बाहेक कार्यक्रम नै तय गरेर तिनीहरुलाई मुस्ताङ्ग, ईलाम, पोखरा जस्ता पर्यटकिय ठाउँमा लैजाने, बसाउने वा घुमाउने खालका कार्यक्रमहरु पनि संचालन गरिएको छैन नत कुनै नयाँ पर्यटकिय स्थलको पहिचान गरेर पूर्वाधार नै स्थापना गरिएको होस। शहरहरुमा सुविधा छैन, शौचालय, जताततै देखिने चौपाया र जनावर, झर्को लाग्ने ट्राफिक र भद्रगोलको अवस्था यथावत छ।

उदहारणका लागि, गत बर्ष यसै समय आफुहरुले नेपाल भ्रमण गरेको अनुभव सुनाउंदै एकजना मित्र भन्दै थिए- काम बिशेषले नारायण गोपाल चोकदेखि कलंकीसम्म यात्रा गर्दा १० – १५ मिटरभन्दा अगाडिको दृश्य धुलोका कारण देख्न सकिन्नथ्यो। गाडीमा बसुञ्जेल त जसो तसो धानिएको थियो तर जब सडकमा हिंड्नु पर्ने भयो हामी निसास्सियाैँ। यस्तो अवस्थामा पनि सडकको पेटिमा दिनभर बसेर सानो व्यावसाय गरिरहेका सहरवासिहरुको अवस्था कति दयनिय छ! अस्तव्यस्त सहरको बसपार्क तिर एकाध बिदेशी पर्यटकहरुले हामी नेपालीहरुको अनुहारमा एकटकले हेरेर सहानुभूति प्रकट गरिरहेको पनि सहजै देख्न सकिन्थ्यो, उनको भनाईमा तितो सत्य लुकेको थियो।

तिनै पर्यटकलाई सम्झेर अब प्रश्न गरौँ त- यस्तो अनुभव गरेका विदेशीहरुको लागि अर्को पटकको भ्रमणको गन्तब्यमा नेपाल पर्न सक्ला? उनीहरुले आफ्ना कुनै मित्रलाई नेपाल छान्न सिफारिस गर्लान? शहरको कुरुप अवस्था हामीले स्वीकार्नै पर्ने सत्य भएको छ कि- उनीहरुले त्यस्तो गर्ने छैनन । कमसे कम भ्रमण बर्षले पूर्वाधार र सुधारलाई लक्ष गरेको भए, नेपाली खाना र परिकारमा नेपाली उत्पादनलाई नै प्रवर्धन गराउने भनेको भए, बसाईको अवधि बढाउने खालका कार्यक्रम संचालनमा ल्याएको भए, स्वास्थ्य, यातायात र सुरक्षामा यति र यसरि सुधार गरिने छ भनेको भए निश्चित रुपमा मान्न सकिने थियो कि त्यस्ता प्रयासका कारण पर्यटन व्यावसायको प्रवर्धन गर्न सकिने छ।

काठमाण्डौको माछापोखरीदेखि बालाजु चोकसमको सडक खण्डमा खिचिएको फोटो, जहाँ अगाडीको सडक धुलाम्ये देखिन्छ

शहरहरु धुलो, हिलो र फोहरले पुरिएका छन। यातायातका लागि गुडने सुबिधाजनक सवारीका साधनहरु छैनन्। उनीहरुको वसाई लम्ब्याउनका लागि दुरदुरसम्म बस्ने होटल लजको सुविधा छैन। पर्यटकको आवश्यकतालाई सम्बोधन नै नगरी अहिलेको जे अवस्था छ त्यसैमा आयोजना गरिएका केहि तामझामे कार्यक्रमबाट लोभिएर बीस लाख पर्यटन आउने सपना देखिएको छ भने त्यो सायद पुरा नहोला! आठ-दश लाख पर्यटक त गत बर्षमा पनि आउंथे; यदि त्यसैमा थपथाप गरेर संख्या पुर्र्याउन खोजिएको हो भने केहि भन्नु छैन। वास्तवमा थोरैको संख्यामा भित्रिएका पर्यटकहरुले पनि राम्रो अनुभव लिएर फर्कन सके भने त्यहि अनुभवले नेपालको पर्यटन ब्यावसायको बिकास र स्थायित्वमा निकै ठूलो भूमिका खेल्न सक्छ। तर भ्रमणमा आएकाहरूमा अनुभव नराम्रो हुँदाको असर के हुन्छ, यसबारे सोचेको पनि देखिएन।

खै पर्यटक भित्र्याउने पूर्वाधार र तिनीहरुको सुरक्षा जसबाट बसाई अवधि लम्बियोस र धेरै पर्यटकले नेपालको सुन्दरताबाट आनन्दित र आल्हादित हुन् सकुन; यो कुनै खेलाची हो र? अनि प्रचार प्रसारमै पनि- जे जति पोष्टर, तस्विर र विज्ञापनका सामाग्रीहरु प्रयोग गरिएका छन् त्यसमा नयाँ ठाउँको कुनै झल्को छैन, भक्तपुर, दरवार स्क्वायर, कोच्चिएको सहर, धान खेति जस्ता पुराना सामाग्रीले भरिएको देखिन्छ। प्रश्न उठछ कि यो बर्षको पर्यटन प्रवर्धनमा गरिएको खर्चले कति ठाउँलाई स्थायी पर्यटकिय स्थलका रुपमा बिकास र स्थायित्व दिन सकियो !? कुनै लक्ष त हुनुपर्ने हो नि ! तर त्यस्तो पनि देखिएन!

यस सम्बन्धमा कान्तिपुरमा प्रकाशित आलेखलाई सान्दर्भिक ठानेर तल शयर गरेका छौं, पुरा पढनुहोस

भ्रमण वर्ष २०२० : पूर्वाधारकै अभाव


‘पूर्वाधारबिना पर्यटकको बसाइ लम्ब्याउन सकिएको छैन । गन्तव्यसम्म पर्यटक पुर्‍याउन सडक छैनन् ।’

पुस १५, २०७६माधव अर्याल, नवीन पौडेल

(पाल्पा) र (परासी) — आगामी सन् २०२० लाई सरकारले नेपाल भ्रमण वर्ष घोषणागरेसँगै यस अवधिमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य छ । प्रदेश ५ सरकारले पनि लुम्बिनी भ्रमण वर्ष, २०७६ घोषणा गरेको छ ।

नेपाल भ्रमण वर्षलाई सघाउन लुम्बिनी भ्रमण वर्ष घोषणा गरिए पनि पर्यटन पूर्वाधारको विकास भने हुन सकेन । पाल्पामा डिभिजन वन कार्यालयले अस्थायी गेट निर्माण गरेको छ । सिद्धार्थ राजमार्गको दोभान, बर्तुङमा निर्माण गरिएका गेट भत्किसकेका छन् । ‘लुम्बिनी भ्रमण वर्षमा उल्लेख्य केही भएन,’ पर्यटन व्यवसायी सरोज शाक्यले भने, ‘कार्यक्रम गरेकै थाहा भएन ।’ पाल्पामा दुई दर्जनभन्दा बढी पर्यटकीय (प्राकृतिक) गन्तव्य छन् । तर, तिनमा गतिलो पूर्वाधार छैनन् ।

पूर्वाधार नहुँदा पर्यटकको बसाइ लम्ब्याउन सकिएको छैन । गन्तव्यसम्म पर्यटक पुर्‍याउन सडक छैनन् । जिल्लाका केही स्थान सरकारले घोषणा गरेको एक सय पर्यटकीय गन्तव्यमा परेका छन् । स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारले पर्यटकीय गन्तव्य बनाउन गरेका घोषणा कागजमा सीमित छन् । ‘भ्रमण वर्ष सुरु भयो तर पूर्वाधारमा लगानी कहींकतैबाट भएको देखिएको छैन,’ पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जनले भने, ‘यसका लागि कोही कसैलाई मतलब भएजस्तो लागेको छैन ।’ रानीमहल, श्रीनगरडाँडा, ताँहुको रम्भादेवी र रामपुरको तालपोखरा पर्यटकीय गन्तव्यमा परे पनि अस्तव्यस्त छन् । रानीमहलसम्म पुग्ने गतिलो सडक निर्माण गरिएको छैन । प्रदेश सरकारले यस वर्ष बजेट विनियोजन गरे पनि काम पूरा हुने देखिएको छैन । रम्भा गाउँपालिकाले रम्भादेवी–रिमिघा महोत्सव गरे पनि उपलब्धि देखिएन । ‘हामीले यस वर्ष पनि महोत्सव गर्ने सोचअनुसार बजेट विनियोजन गरेका छौं,’ रम्भा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले भने, ‘यसबाट प्रचारप्रसार हुनेछ भन्ने लागेको छ ।’ रम्भादेवी मन्दिरका लागि पर्यटन मन्त्रालयले पठाएको २५ लाख रुपैयाँ बजेटबाट शौचालय, गेट र घेराबार गरिएको उनले बताए ।

रम्भादेवीसम्म पुग्ने सडकको पहुँच मार्ग गतिलो छैन । आर्यभन्ज्याङ–रामपुर सडकको ताँहुबाट तीन किलोमिटर टाढा रम्भादेवी छ । तर, त्यहाँसम्म सहज यातायात पुग्दैन । ‘सहज तरिकाले सडकसमेत पुग्न नसक्नु दुःखद हो,’ रम्भादेवी दर्शन गर्न पुगेका कपिल न्यौपानेले भने, ‘यसका लागि बजेट परेको भन्ने सुनियो तर काम भएको देखिएन ।’ पहिला र अहिलेमा कुनै परिवर्तन भएको नपाएको उनले बताए ।

स्थापित तथा प्रवर्द्धन गरिनुपर्ने गन्तव्यमा तानसेनको श्रीनगरडाँडा पनि पर्छ । लथालिङ्ग अवस्थामा श्रीनगर छ । यहाँ लगाएको ठेक्का रकम परिचालन गर्ने हो भने पनि सुधार हुने थियो । तर, तानसेन नगरपालिकाले ठेक्का लगाउने र यसबाट आएको आम्दानी तलबमा खर्च गर्दै आएको छ । ‘प्राकृतिक सौन्दर्यले भरिपूर्ण भए पनि यसको विकासमा नगरपालिकाको चासो देखिएन,’ यहाँ घुम्दै गरेका चितवनबाट आएका आन्तरिक पर्यटक जीवन पोखरेलले भने, ‘यस्तो सुन्दर ठाउँलाई नमुना बनाउन सकिन्थ्यो । तर, स्थानीय तहको चासो देखिएन ।’

स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारले पर्यटकीय गन्तव्य बनाउन गरेका घोषणा कागजमा सीमित छन् । भ्रमण वर्ष सुरु भयो तर पूर्वाधारमा लगानी कहींकतैबाट भएको देखिएको छैन

– राजु महर्जन, अध्यक्ष – पाल्पा उद्योग वाणिज्य संघ

तानसेन नगरपालिका–१३ मा रहेको रानीमहलको अवस्था पनि उस्तै छ । रानीमहलमा तानसेन नगरपालिकाले एक रुपैयाँ पनि लगानी गरेको छैन । प्रदेश सरकारले दिएको बजेटबाट रानीमहलमा ‘इको पार्क’ बनेको छ । गत वर्ष नगरपालिकामा पर्यटन मन्त्रालयबाट आएको बजेट खर्च नभएको तानसेन नगरपालिका अधिकृत विष्णु पौडेलले बताए । गत वर्ष रानीमहल–श्रीनगरका लागि ५० लाख रुपैयाँ विनियोजन भएको थियो । उनका अनुसार यस वर्ष पर्यटन बोर्डबाट ढाका र करुवाको खुला संग्रहालय स्थापना गर्न सात लाख, सांस्कृतिक सम्पदाहरूको सौन्दर्यकरणका लागि पाँच लाख र रणउजिरेश्वरी भगवती मन्दिरको सौन्दर्यकरणका लागि सात लाख बजेट आएको छ । प्रदेश सरकारले पनि २५ लाख बजेट पर्यटनमा खर्च गर्न पठाएको छ । नगरपालिकाले लायन्स धर्मशालादेखि वनदेवी श्रीनगर जाने रेलिङ मर्मतका लागि बजेट छुट्याएको जनाएको छ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत ठूलो अक्षरमा ‘तानसेन’ लेखेर विद्युतीय धातुको बोर्ड बनाउनका लागि ५० लाख, उजिरसिंह पार्क बनाउन ५० लाख र प्रभास आँप बगैंचामा योगकेन्द्र बनाउन १९ लाख ६० हजार रुपैयाँ छुट्याइएको छ ।

रामपुर नगरपालिकाको तालपोखरामा गत वर्ष पर्यटन बोर्डको सिफारिसमा मन्त्रालयले ५० लाख रुपैयाँ पठाएको थियो । रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाका अनुसार २० लाख रुपैयाँ तालपोखरामा खर्च भएको छ । त्यस रकमबाट टायल बिछ्याउने, ताल सफा गर्ने, रेलिङ राख्ने काम भएको छ । यही काममा नगरपालिकाले २० लाखको साझेदारी गरेको उनले सुनाए । चालु आर्थिक वर्षमा पनि तालपोखरालाई २५ लाख पर्यटन मन्त्रालयबाट आउने भएको छ । नगरपालिकाले लागि पाँच लाख रुपैयाँ छुट्याएको छ । पर्यटन भ्रमण वर्षअन्तर्गत रामपुर नगरपालिकाले फागुनको पहिलो साता प्याराग्लाइडिङ, र्‍याफटिङ, झाँकी/र्‍यालीसहित सिद्धबाबामा विशेष कार्यक्रम गर्ने योजना बनाएको छ । त्यसका लािग नगरपालिकाले १० लाख विनियोजन गरेको नगर प्रमुख थापाले बताए ।

जिल्लाका महत्त्वपूर्ण गन्तव्यमा भैरवस्थान, रिडीको रुरुक्षेत्र, हृषीकेश पनि हुन् । निस्दीको काउलेडाँडा, तिनाउको जन्तीलुङ, सत्यवती, सुके ताल पनि पर्यटकीय गन्तव्यका रूपमा विकास भएका छन् । त्यहाँ पुग्ने पर्यटकलाई बसाउन पूर्वाधार अभाव छ ।

यहाँको तानसेन दरबार, अर्गली दरबार, मूलढोका, खड्गस्तम्भ, विजयस्तम्भका विषयमा सर्वसाधारणलाई जानकारी नै छैन । प्रदेशस्तरको संग्रहालयमा कोठा रित्तै छन् । ९० प्रतिशत आन्तरिक, बाह्य र भारतीय पर्यटक एकैछिन घुमेर फर्कने गरेका छन् । ‘पाल्पामा पर्यटक नआउने होइनन् तर यहाँ पूर्वाधारको विकास हुन सकेको छैन,’ नाटाका जिल्ला सचिव सागरमान महर्जनले भने, ‘उनीहरूको बसाइ लम्ब्याउन सकियो भने पक्कै पनि पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने थियो ।’

जिल्लामा भैरवस्थानबाहेक अमरनारायण, रणउजिरेश्वरी भगवती, सिद्धबाबा, हृषीकेश, शिवालय, रम्भादेवी, बगनासकाली, राधाकृष्ण माण्डव्य, गणेशलगायत मन्दिर प्रसिद्ध छन् । बौद्ध पर्यटनका हिसाबले पनि आनन्द बिहार, महावोधी बिहार, महाचैत्य विहार, धर्मचक्र बिहार छन् । ढाका, करुवा, अम्लिसो, कफी, वैकल्पिक इन्धन, कृषि, वन, खनिज पर्यटन पनि विकास गर्न सकिने महर्जनले बताए । पर्यटकीय स्थल बनेर पर्यटक भित्रिएपछि गाउँमा स्वरोजगार र आम्दानीको बाटो खुल्ने भएकाले नगरपालिकाले केही योजना अघि सारेको तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले बताए ।

फितलो तयारी
भ्रमण वर्ष सफल पार्न पश्चिम नवलपरासीमा जिल्ला समन्वय समिति प्रमुखको अध्यक्षतामा प्रवर्द्धन समिति गठन गरिएको छ । स्थानीय तहले आफ्नो पालिकाभित्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्न छुट्टै समिति गठन गरेका छन् । समिति नाममात्रका भएपछि पर्यटन प्रवर्द्धनका गतिविधि हुन सकेका छैनन् । समितिसँग न बजेट छ, न त पूर्वाधार विकासका लागि निर्देशन दिने अधिकार । जिल्लामा आउने पर्यटकको स्वागत सत्कारसहित उनीहरूको बसाइ लम्ब्याउने र स्थानीयलाई रोजगारीको अवसर सिर्जना गर्ने वातावरण तयार गर्ने गरी प्रवर्द्धनात्मक कार्यक्रम तयार पारिएको पर्यटन प्रवर्द्धन समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख शिवशंकर रायले बताए । ‘जिल्लामा रहेका पर्यटन प्रवर्द्धनका लागि प्रत्यक्ष/अप्रत्यक्ष सहयोग गर्ने सबैलाई समेटेर समिति गठन भएको छ,’ उनले भने, ‘सबै क्षेत्रको सहयोगले मात्र कार्यक्रम सफल हुने छ । हामीले त आग्रह गर्नेमात्र हो ।’ पर्यटकलाई आकर्षित गर्न पूर्वाधार चाहिन्छ । पूर्वाधारबिना चाहेर पनि पर्यटक आउन मुस्किल पर्छ । सडक निर्माण गरिएका छैनन् । बस्नका लागि होटल सुविधा छैनन् । जिल्लाको प्रमुख गन्तव्य रामग्राम स्तुप हो । त्यहाँ माटोको ढिस्कोमा एउटा रुख र वरपर बगैंचाबाहेक केही छैन ।

बुद्ध धर्मावलम्बीले यहाँ नआएसम्म आफ्नो दर्शन पूरा भएको मान्दैनन् । कोरिया, भियतनाम, थाइल्यान्ड, जापान, चीनबाट पर्यटक यहाँ आउने गर्छन् । स्तुप परिसरमा ध्यान गर्न सकिने उपयुक्त स्थलकै अभाव छ । होटल, खानेपानी, शौचालय, प्रार्थनास्थलको अभावमा पर्यटक छोटो समयमै फर्किने गरेका छन् । रामग्राम स्तुप संरक्षण तथा पर्यटन विकास संस्था अध्यक्ष शम्भु उपाध्यायका अनुसार पूर्वाधार नभएकाले पर्यटक रोकिन नसकेका हुन् । मानवीय अतिक्रमणले महलपोखरी तालको अस्तित्व मेटिएको छ । सुनवल नगरपालिका–४ मा रहेको करिब पाँच बिघा जग्गा अतिक्रमण गरी खेती गर्न थालेपछि पोखरी खेतमा परिणत भएको हो । ०३० सालमा स्थानीय बासिन्दाले कुलो खनेर पानी बाहिर निकालेर पोखरी सुकाएका थिए । होटल व्यवसायी समिति नवलपरासीका अध्यक्ष नवराज अधिकारीका अनुसार ठूला लगानीका होटल तथा रेस्टुरेण्ट खुल्ने क्रम जारी भए पनि पर्यटकीय क्षेत्रमा सरकारले पूर्वाधारमा ध्यान नदिंदा लगानी सुरक्षित हुनेमा व्यवसायी ढुक्क छैनन् ।

तयारी पूरा
बर्दिया (कास)– भ्रमण वर्षको अवसरमा ‘घुम्न जाऊँ बर्दिया’को तयारी पूरा भएको छ । प्रदेश ५ सरकारले भ्रमण वर्षको सुरुवात पुस १६ मा ठाकुरद्वाराबाट गर्न लागेको छ । निकुञ्ज प्रशासनले पर्यटकलाई घुमफिरका लागि सफारी सडक मर्मत गरेको छ ।


प्रकाशित : कान्तिपुर, पुस १५, २०७६ १०:३३

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s