बिशेष रिपोर्ट, बैदेशिक रोजगारी

मृत्युसम्मको त्रासदीमा रेमिट्यान्स खेति: यस्ता छन तीन प्रसंग

प्रसङ्ग एक

हाम्रो थप जिज्ञासामा उनले थपेका थिए- सबैभन्दा पहिले मरिन्छ कि बाँचिन्छ भन्ने मनमा आयो, त्यसपछि यसरि नै परदेशिएकाहरुको घरवार बिछोड भएको, पठाएका पैसो हिनामिना हुनुको साथै लिएको ऋण फर्काउन नसकेको, बाबु- आमा र वालबच्चाले दुख पाएका कुराहरु सम्झेर आङमा जिरिङ्ग जिरिङ्ग काँडा उम्रन्थ्यो र सोच्थ्यें- यदि त्यस्तै अवस्था ममाथि पनि आईपर्र्यो भने म कसरि चित्त बुझाउन सकुँला! “विदेश जाने भने पछी खुसि लागेको थियो, जब भिसा लाग्यो तर रातभर निन्द्रा लागेन।” पहिलो पटक परदेशको वसाई पछि नेपाल फर्कंदै गरेका एक जना नेपाली परदेशीले श्यर गर्नु भएको अनुभव थियो यो कुरा। उक्त परदेशी मित्रसँग गत साल दुबईदेखि नेपालसम्म संगै प्लेनमा यात्रा गर्दैगर्दा परदेशको अनुभव आदान-प्रदान गर्ने अवसर जुटेको थियो। उनीसंग मुलुकको एकमात्र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा लगेज संकलन गर्ने ठाउँमा तीन घण्टा संगै कुर्नु  परेको लामो अस्तव्यस्तताको पराकाष्टासम्म कुराहरु गर्ने मौका मिलेको थियो। त्यहि अनुभवबाट शुरु गरेर नेपालको रेमिट्यान्स खेतिका बारेमा यहाँ विश्लेषण गर्न खोजिएको छ।

चाहे त्यो परदेश आउने जानेको सन्दर्भमा होस् वा पर्यटन/भ्रमण बर्षको सन्दर्भमा नै किन नहोस आन्तरिक तयारि यति कमजोर छ कि- एअरपोर्ट भित्र लगेज नै आउन ढिला हुन्थ्यो, आएर संकल गरेपछि ट्रलिहरुको भद्रगोल र भिडको ‘ट्राफिक’बाट बाहिर निस्कन त्योभन्दा धेरै आँटा बेल्नु पर्थ्यो। बिहानको एघार बजे उत्रिसके पछि लागेको थियो- त्यहि दिन परेको पिताजीको श्राद्धमा तर्पण गर्न पाईने भयो; यो संयोग बाह्र बर्ष पछि जुटेको थियो। हामीलाई त्यो भद्रगोलले तीन घण्टा वन्दि त बनायो नै; बाहिर परिवारका सदस्यहरु हाई काडेर कुर्नुको अत्याड लाग्दो पिडा आफैमा समस्या थियो। यदि हामीलाई काठमाण्डौ बाहिरको गन्तव्यसम्म पुग्नु परेको भए धेरै कुरा गुमाउनु पर्ने अवस्था थियो- त्यो क्षण! बल्लबल्ल त्यो भीडबाट त बाहिर निस्कियो तर तिलगंगा देखि गोपीकृष्ण हालसम्मको ट्राफिक जामले अर्को सवा घण्टा खाईदियो। हामी घर पुग्दा खाना खाएर प्राय: सबै इष्टमित्र लाखापाखा लागिसक्नु भएको थियो। हामीलाई यसैबेला लाग्यो, यौटा शब्दको चयनमा दशौँ मिटिङ्ग बस्ने गरेको सिंहदरवारमा किन यस्ता बिषयले एकैछिन पनि समय पाउदैनन्!

प्रसङ्ग दुई

चाहे त्यो ईराकमा लाईनै मारिएका नेपाली परदेशी हुन् वा कतार ओलम्पिक गेमको तयारीको लागि राज्यकै सहभागितामा नेपाली श्रमिकमाथि गरिएको शोषणको अमानविय दर्द होस्, वा इजरायलको घरेलु सेवादेखि बम्बैका चोकसम्म सुनियोजित शैलीमा नेपाली चेलिहरुमाथि थुपारिएको सतित्व हरणका वेदना हुन्, वा मालिकले श्रम वापत पैसै नदिएर विचल्लीमा पारेका कहानीहरु नै किन नहुन, वा श्रीमान श्रीमतीबीच बिग्रेको सम्बन्धका कारण हत्या आत्महत्या गरेको सनसनीपूर्ण खवर होस वा अदालतमा चुलिंदै गरेका छोडपत्रका ठेलीहरु नै किन नहुन; त्यसलाई सुने, पढेपछि कसैको दिल गलेर नआउने कुरै हुन्थेन। त्रासदीले लामो सासको मुस्लो उर्लेर आउँछ। ब्यक्तिगत प्रयासमा केहि गर्न सकिन्न, समस्या समाधानमा आशा गर्ने राज्य कै हो। त्यसैले त पटक पटकको आन्दोलनमा त्यहि सुधारको अपेक्षा राखेर सहभागी भएकाहरुलाई यतिखेर लागि रहेको छ- प्रजातन्त्र आयो, गणतन्त्र आयो तर रोकिएन एयरपोर्टमा लास कुर्नेहरुको लाईन र चिरहरणमा परेर टेलिभिजनको पर्दामा पछ्यौराले मुख छोपेर भक्कनिएका आमा, दिदि बहिनीको आँशु! अनि त्यहि लाशले पठाएको रेमिट्यान्स पिएर मात्तिएकाहरुसंगै राज्य संचालनमा रहेका अर्काथरीले गरिरहेको अट्टहासका दृश्यहरु; चलेका वित्तिय संघ-संस्था र गुढेको अर्थतन्त्र! अनि त्यहि रेमिट्यान्सले गरिवी घटाएको अन्तराष्ट्रिय संस्थाहरुका तथ्याङ्क र प्रतिवेदनहरु! आनका तान फरक छन्- बोलिने शब्द र देखिने व्यवहारमा ! यसैलाई भनिएको छ- एकमात्र तन्त्र, प्रजातन्त्र !

प्रसङ्ग तीन   

भन्नेहरुको नजरमा नेपालको बैदेशिक रोजगारी सुधारोन्मुख रहेको भए पनि यो व्यावसाय यस्तो अक्करमा अडकिएको छ कि यसको सफल निकास त्यति सहज देखिन्न। बैदेशिक रोजगार व्यावसाय, मानव तस्करी, कमिशनको जालो, भ्रष्टाचार, दुष्ट नियति र यी सबैलाई व्यवस्थापन गर्न असफल देखिएको राज्य पक्षको अकर्मण्यताले गर्दा त्यस्तो निकास असहज देखिएको हो। सबैले आफुले ठिक गरेको भन्ने तर ठीक कसैले नगर्ने कारणले गर्दा सबैलाई सास्ती पनि भएको छ। यस्तो अवस्थामा न्याय कायम गराउन राज्य नै यस्तो संयन्त्र हो जसले चाहने हो भने चौविस घण्टाभित्र सुधारको अनुभूति गर्नसकिन्छ। तर मुना कुवाँरले नयाँ पत्रिकाको लागि गरेको रिपोर्टिङ्ग अनुसार “हरेक दिन २ अर्ब रेमिट्यान्ससँगै दुईभन्दा बढी शव भित्रन्छ! ५ वर्षमा ४ हजारभन्दा बढी नेपाली युवाले विदेशमा रोजगारी गर्न जाँदा ज्यान गुमाए, ५ सय ४५ अर्काको देशको जेलमा यातना भोगिरहेका छन्, तीमध्ये २५ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ, २५ कामदार विदेशकै अस्पतालको कोमामा मृत्युसँग लडिरहेका छन्, ३८८ कामदार कहाँ हराए कसैलाई पत्तो छैन, रेमिट्यान्सले देश चलाउन पल्केका राज्य सञ्चालकहरू युवालाई वैदेशिक रोजगारको भुंग्रोमा धकेलिरहेका छन्” रिपोर्टिङ्ग अनुसार “५ वर्षको अवधिमा नेपालबाट २१ लाख ७२ हजार ५ सय १० युवा विभिन्न मुलुकमा गएका छन् । गत आव ०७५/७६ मा मात्रै ५ लाख ८८ हजार ८२८ नेपाली काम गर्न विभिन्न मुलुक गएका छन् । सो अवधिमा ८ खर्ब ७९ अर्ब रेमिट्यान्स भित्रिँदा ७ सय ५३ कामदारले ज्यान गुमाएका छन् ।“ तर निति निर्माताहरुको तातो वहसका लागि अझै पनि यो कहालीलाग्दो बिषयले एजेण्डा बन्न सकिरहेको छैन।

Video Nepali Times

मृत्युको घटनालाई हेर्ने दृष्टिकोण

जहाँ सम्म बैदेशिक रोजगारीको शिलसिलामा भएको मृत्युको घटनालाई हेर्ने दृष्टिकोण छ, त्यो नै अन्यायपूर्ण देखिन्छ।त्यस्तो मृत्युलाई प्राकृतिक भन्ने गरिन्छ। प्राकृतिक मृत्यूका सम्बन्धमा खासै केहि गर्न नमिल्ने हुँदा यसै तर्फ रोजगारी दिने र रोजगारीमा पठाउने दुवै आकर्षित भएको देखिन्छ। डेथ सर्टीफ़िकेटमा रोजगार दाताले प्राकृतिक मृत्यू (नेचुरल डेथ) लेख्ने वित्तिकै त्यसैलाई नेपाली पक्षले आधारका रुपमा स्वीकारेर आफ्ना नागरिक माथि पराईलाई अमानवीय शोषणयुक्त व्यवहार गर्न दिनुहुँदैन। यसमा श्रम गर्नेको यथार्थ अवस्था बारे अनुसन्धान गर्न उपेक्षा गरेको देखिन्छ। यसै बिषयमा द गार्जियनका लागि पेट प्याट्टिसन (Pate  Pattisson ) को रिपोर्टिङ्गमा भनिएको छ कि बैदेशिक रोजगारीमा गएका मृतक नेपाली यूवाहरुको अवस्थालाई हेर्दा ९० प्रतिशत हत्या नै ठहर गर्न सकिन्छ। तर त्यस्तो अकाल मृत्यूलाई पनि प्राकृतिक भन्दै पन्छिने गरिएको छ।  

मुना कुवाँरकै माथिको रिपोर्टिङ्ग अनुसार श्रम मन्त्रालयका प्रवक्तालाई “वैदेशिक रोजगारीमा जानेको तुलनामा मृत्युको संख्या असाध्यै कम” लागेको छ। प्रवक्तालाई उधृत गर्दै कुवाँर थप्छिन “विदेशमा दुर्घटना हुनु र मृत्य हुनु सामान्य हो, त्यसलाई हामी रोक्न सक्दैनौँ ।” सम्बन्धित निकायका पदाधिकारीको उक्त अभिव्यक्तिमा सहानुभूति र सुधारको आभास पाईन्न। काम गर्ने ठाउँमा लागुहुने अनिर्वार्य “स्वास्थ्य र सुरक्षा” (हेल्थ एण्ड सेफ्टी) को नीति, वैदेशिक रोजगारीमा जानेहरुलाई तालिम वा स्वास्थ्य सुरक्षाका नितिहरुबारे अवगत गराएर वा त्यस्ता स्वास्थ्य सिविरहरु संचालनमा ल्याएर, श्रमदाता कम्पनि र सरकारसंग सिधा सम्पर्कमा रहेर, मानव अधिकार वा प्रजातन्त्रका शर्तहरु उठाएर र अन्तराष्ट्रिय श्रम अदालतमा अन्यायका कुराहरु उठाएर मृत्यूको संख्या घटाउन सकिनेमा सम्बन्धित निकायहरु सचेत देखिएनन। खर्वका खर्व रेमिट्यानस बुझेर सम्वृद्धिको सपना देख्नेले वैदेशिक रोजगारीलाई ब्यवस्थित गर्न किन एक खर्व (मानौं) कै परियोजना संचालनमा ल्याउन सक्दैन? यसैमा लुकेको छ नियति र दुर्गति !

निचोड

नेपालको आर्थिक ईतिहासलाई नियाल्दा रेमिट्यान्सले अर्थतन्त्र धान्नुभन्दा अगाडी कृषि, पर्यटन, गार्मेण्ट र गलैचा उद्ध्योगले प्रत्येक १०-१५ बर्ष धान्दै आएको देखिन्छ। नेपालमा रेमिट्यान्सको खेति फस्टाएको २००७/०८ देखि हो। यसको पनि अब १० बर्षको आयु पुरा भएको अवस्था छ। रेमिट्यान्स फ़स्टाईरहन सक्दैन भन्ने आधार आप्रवासी बिरुद्ध ठुला मुलुकले अपनाउन थालेको संरक्षणवादी (प्रोक्टेक्सनिजम वा नयाँ राष्ट्रवाद) नीतिलाई समयमै रेमिट्यान्स अर्थतन्त्रले बुझ्न जरुरि छ। माथिका सबै अवस्थाहरुले के सन्देश दिईरहेको छ भने नेपालको वैदेशिक रोजगारीमा ब्यापक अनियमितता (आर्थिक, सामाजिक र राजनैतिक) ब्याप्त छ। रेमिट्यान्सका कारण गरिवी घटेको देखाउँदा रेमिट्यान्सकै कारण समाजमा देखिएका नकारात्मक पक्षहरुलाई घटाऊने सोच र उपायको प्रयोग नभएसम्म त्यस्तो संमृद्दि समतामूलक हुन सक्दैन । श्रमिक युवाहरु व्यक्तिगत समस्यामा झेलिदै मृत्युको मुखसम्म “अजिङ्गरको आहारा” बन्न पुगेका छन्; तत्काल सुधारको आवश्यकता जरुरि छ। बैदेशिक श्रम बजार र रोजगारीमा देखिएका समस्यालाई निराकरण गर्न गैह्र आवासिय नेपालीहरुको संगठनले महत्वपूर्ण अभियान संचालन गर्न सक्छन, त्यो जरुरि छ।

Feature image: mathew-macquarrie-u6OnpbMuZAs-unsplash




नियमित ‘परदेशी’ पढनका लागि

यो बिश्लेषण तयार गर्नका लागि पढिएका सामाग्री श्रोतहरु 


जानकारी मुलक अन्य लेख बिश्लेषणहरु

Loading…

Something went wrong. Please refresh the page and/or try again.


1 thought on “मृत्युसम्मको त्रासदीमा रेमिट्यान्स खेति: यस्ता छन तीन प्रसंग”

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s